औकातहिन

Posted by

विगतका हामीहरू
र हाम्रा विगतहरु
दुबै औकातहिन थिए।

इतिहासको हाम्रो जीत
या हाम्रो जितको इतिहास
मेरो अनपढ हजुरआमालाई
मतलब थिएन
छैन र हुनेछैन।

जंगेको लौरोदेखि
पृथ्वीनारायण शाहको पुर्पुरो
र केपी ओलीको समृद्धिको लहरो
सबै सबै लरतरो समयक्रम हो।
सिर्फ निरन्तरताको क्रमभंगता हो।

फगत रगत बग्दै मा क्रान्ति हुन्न।
क्रान्तिमा रगत बग्नैपर्छ भन्ने छैन।

निर्दोष कुकुरको छाउरो जन्मेपछि
१० मिनेटमा जुरुक्क उभिनुलाई
म क्रान्ति मान्छु।

धुम्म आकाशको,
उखरमाउलो गड्गडाहट पछि
जब भयंकर वर्षा हुन्छ।
त्यसपछिको पर्पल क्षितिजलाई
म क्रान्ति मान्छु।

निरीह गौरीहरुको
बलात्कारपछि
कुनै बुद्ध जन्मिन्छ भनेपनि
त्यो शान्तिको सन्देश
यो युगलाई आवश्यक छैन।

त्यसैले,
आजका हामीहरू
र हाम्रा आजहरु पनि
उत्तिकै औकातहिन छन्।

भयको यो विकराल आकारमा उभिएर
दिनानुदिन विचारको भुक्षयसँग जुझ्दै
यो ढल मिसिएको सेरोफेरोमा
कुनै नायक हुर्किनेवाला छैन।

सबै हिलोमा कमल फुल्दैन।
कमल सधैं हिलोमा फुल्दैन।

आधारहीन दर्शनहरु,
बिना प्रश्नका उत्तरहरु,
तथ्यको यो दुनियाको लागि
केवल सेता हल्ला हुन।

यहाँ बिना व्यापार राजनीति हुन्न।
बिना राजनीति व्यापार हुन्न।
धर्ममा संकट देखिन्छ।
तर संकटमा धर्म देखिन्न।

शिक्षणमा सिद्दान्त देखिन्न।
सिद्धान्तमा शिक्षण देखिन्न।

यस्तै निकृष्ट जर्जर र दयनीय
नमूना वस्तुस्थितिको
विशाल उपस्थितिले
अनौठो भूकम्पको
अकाट्य सम्भावना राख्दैन र?

मेरा यी शब्दहरू
या शब्दले बनेका म हरु
न प्रश्न हुन, न उत्तर।

निष्कर्ष:
भोलिका हामीहरू
र हाम्रा भोलीहरु पनि
त्यत्तिकै औकातहिन छन्।
औकातहिन छ्न।
छन्।