एक धुमिल बिहान

Posted by

फराकिलो आँगनमा,
चारैतिर मन पोखिन्छ ।
निर्जीव डल्फिन कुर्सी
अलौकिक परिचय माग्छ,
मेरो बिहानीसँग ।

बिगत आगतका पुस्तिकाबाट,
फ्याँके, चित्रजस्तो एक भाषा…!
सम्बन्ध, धितो राख्दै
अघिल्लो साँझको एकमुठि रंग,
सापटी लिएर ।

कथित सुर्योदयमा,
पाकेका सेलरोटिहरु,
काँचा यथार्थ हुन ।
तर,
म अर्थात झुसिल्किरालाई
जिवनको सबभन्दा गुलियो बिहान,
सदा अबिस्मरणिय हुन्छ ।

मेरो हातमा,
स्टिल गिलासमा,
तिम्रो छाप देख्छु ।
नमेटिएको,
कदापि नमेटिने ।

भिमकाय भुगोलमा,
अस्तित्व हराउँछ ।
शहरसँग मन बस्दै बस्दैन ।
केलाउदै नाता,
मन मष्तिष्कभित्र,
जताततै
नाबालक तिमी ।
नाबालक तिमी ।।

ढुङ्गामाटो खेल्दै,
तिमी हुर्केको करेसाबारी ।
रुदैं भित्र-बाहिर गर्ने,
त्यो मुलढोका ।
तिम्रा पातला पदचाप
प्रष्ट देखिने मसिनो गोरेटो ।
प्रत्येक हरिबोधनिमा
तिम्रो पसिनाले लिपिने तुलसि-मठ ।
तिम्रो सुख-दु:ख बुझ्ने,
संघर्षको गीत सिकाउने,
समझदार खोला ।

जिवन्त थिए । जिवन्त छन ।

म एक्लै थिईन ।
कैयौ तिमी,
चारैतिर मुस्कुराउंदै थियौ ।
मेरा प्रश्नमा तिमी,
सिरेटो बनेर उत्तर दिन्थ्यौ ।
मेरो उत्तरमा तिमी,
शून्य भएर स्विकार्थ्यौ ।

बिरलै भेटिन्छ जिन्दगीमा,
सान्त्वनाका खहरेहरु ।

आजकाल,
प्रत्येक थोपा सासहरु बेतोडले दगुर्छन,
भरोसाहिन आशहरुमा ।
तिम्रो मीठो आभाष गराउने,
हताश बतासहरुमा ।

यहाँनेर,
प्राण अमूल्य छ ।
परन्तु स्वर्ग
दुर रैन’छ ।।

Image Source: S Media

  • Jyoticarkey

    Heart touching words and mind blowing composition… Love it.. 😘

  • Jyoticarkey

    My pleasure… 🙂